तपाईँ सुन्दै हुनुहुन्छः

स्कटल्यान्डद्वारा नामिबिया पराजित

काठमाडौँ । ओपनर जर्ज मुन्सेको सानदार शतकमा आइसिसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार मुन्सेको शतकसँगै स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो । सिरिजमा नामिबियाको यो लगातार दोस्रो हार हो । मङ्गलवार नामिबिया नेपालसँग पराजित भएको थियो ।

नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्याण्डको जितमा मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले । यस्तै केली कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए । नामिबियाका लागि कुनै खेलाडीले विकेट लिन सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए । जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए । नेपालविरुद्ध मङ्गलवार भएको खेलमा शतक प्रहार गरेका माइकल भान लिङ्गेन १४ बलमा ४ रन मात्र बनाए । उनी सफियान सरिफको बलमा बोल्ड आउट भए ।

मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।

यस जितसँगै स्कटल्याण्डले सात टोली सहभागी विश्वकप लिग टु को उपाधि जितेको छ । स्कटल्याण्डले ३३ खेलमा ४८ अङ्क जोडेर शीर्ष स्थान हासिल गरेको हो ।

अन्य टोलीले बाँकी सबै खेल जिते पनि स्कटल्याण्ड भन्दा अगाडी पुग्ने छैनन् । नामिबिया भने ३२ खेलमा ३७ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले आगामी जुनमा जिम्बाबेमा हुने आइसिसी एक दिवसीय विश्वकपको छनोटमा स्थान बनाइसकेको छ । मङ्गलवारबाट सुरु त्रिकोणात्मक सिरिज फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २/२ खेल खेल्ने छन् ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । यस्तै नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button