तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको मन्त्री डा पौड्यालले जानकारी दिनुभयो । उहाँले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा समेत छलफल भएको बताउनुभयो ।

विशेष गरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापार लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राख्नुभएको थियो ।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आउनुभएको हो ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button