तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयतालाई थप बलियो बनाउन आवश्यक : उपराष्ट्रपति  

जनकपुरधाम  । उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न आन्दोलनको कारणले प्राप्त भएको उपलब्धिहरूको रक्षा गर्दै सङ्घीयतालाई बलियो बनाउन आवश्यक भएको बताउनुभएको छ । 

उपराष्ट्रपति पुनले मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालय, मधेसी सहिद प्रतिष्ठानको आयोजनामा जनयुद्ध दिवसको अवसरमा आज जनकपुरधाममा भएको कार्यक्रममा सहिद परिवारलाई सम्मान गर्दै संविधानलाई थप गतिशिल बनाउनका लागि परिमार्जन र संशोधन गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

उहाँले माओवादी जनयुद्ध, मधेस आन्दोलन, थारु तथा जनजातिको आन्दोलनको बलमा प्राप्त सङ्घीयतालाई बलियो बनाउनका लागि जनताको भावना अनुसारको शासन व्यवस्था अगाडी बढाउन आवश्यक भएको पनि बताउनुभयो ।

उपराष्ट्रपति पुनले नेपालमा माओवादी जनयुद्धपछि भएको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको उल्लेख गर्नुहुँदै विस्तृत शान्ति प्रक्रियाको बाँकी काम पनि चाडै टुङ्ग्याउनु जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयताको संस्थागत विकास तथा मुलुकमा विकासको गतिविधि बढाउनका लागि प्रहरी समायोजन तथा संघीय निजामती ऐन चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । 

उहाँले सङ्घीयता माथि हुने कुनै प्रकारको षड्यन्त्रलाई आफूहरूले स्वीकार नगर्ने बताउनुभयो । 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनयुद्ध तथा विभिन्न आन्दोलनको मर्म अनुसार अहिलेको शासन व्यवस्था सञ्चालन हुन नसकेको उल्लेख गर्दै जनताको भावना अनुसार विकास निर्माणमा गति दिन आवश्यक भएको बताउनुभयो ।

त्यस्तै, मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री शत्रुधन सिंहले सहिदहरूको सपना साकार पार्नका लागि मधेश प्रदेश सरकारले सो अनुसारको काम अगाडि बढाइरहेको बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलगायतका वक्ताहरूले सङ्घीयता र माओवादी जनयुद्ध सहितका आन्दोलन माथि प्रकाश पार्नुभयो । 

सोही अवसरमा उपराष्ट्रपति पुनले मधेश प्रदेश सरकारको तर्फबाट विभिन्न आन्दोलनको क्रममा शहादत प्राप्त गर्नुभएका ५ सय ४० जना सहिदका परिवारलाई जनही १ लाख नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button