तपाईँ सुन्दै हुनुहुन्छः

‘सहमति अनुसार राष्ट्रपति एमालेकै उम्मेदवार’

वीरगञ्ज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकार गठनको बेला भएको सहमति अनुसार राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा आज वीरगञ्जमा आयोजित सङ्गठन सुदृढीकरण कार्यशालाको उद्घाटन गर्नुहुँदै उपमहासचिव गुरुङले पुस १० मा सत्ता गठबन्धन दलबिच भएको सहमतिअनुसार राष्ट्रपति एमालेकै बन्ने र त्यसमा तलमाथि नहुने बताउनुभयो ।

उहाँले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हल्ला हौवा मात्रै भएको बताउँदै माओवादी केन्द्रको हालैको बैठकले पनि एमाले सहितको राष्ट्रिय सहमति खोज्ने निर्णय गरेकाले सत्ता गठबन्धनबाट एमालेले अगाडि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गर्नुभयो ।

उहाँले सत्ता गठबन्धन तथा दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा एमालेलाई स्वीकार्य नहुने बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहनु भएका गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको बताउनुभयो ।

प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आयोजित उद्घाटन सत्रलाई एमाले केन्द्रिय सदस्य अरविन्द सिंह, जिल्ला अध्यक्ष जय प्रकाश थारु, प्रेस चौतारीका पर्सा अध्यक्ष श्याम बन्जारा लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button