भरतपुर भ्रमण वर्ष २०८० लाई लक्षित गर्दै सरोकारवालाबीच छलफल

चितवन । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०८० लाई लक्षित गर्दै सरोकारवालाबीच छलफल शुरु गरेको छ । महानगरपालिका भित्र रहेका ३० वटा गन्तव्यको प्रचार प्रसार र प्रवद्र्धनका लागि भ्रमण वर्ष गर्न लागिएको हो ।
छलफलका क्रममा सहभागीहरूले भ्रमण बर्ष सफल बनाउन पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्नुपर्ने, रात्रिकालीन पर्यटनलाई प्राथमिकता दिनुपर्ने, बसाई अवधि लम्ब्याउने प्याकेज कार्यक्रमहरू ल्याइनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेश चुकेले हाल देशको अर्थतन्त्र धराशायी भएको अवस्थामा यसलाई सुधार गर्न अपरिहार्य रहेको बताउनुभयो । भरतपुरमा पर्यटन पूर्वाधारका काम ७० प्रतिशत भन्दा पुरा भइसकेकोले यसको प्रवर्द्धनमा नीजि क्षेत्र र सरकारी क्षेत्रबीच समन्वय गरेर अघि बढ्नु पर्ने उहाँको भनाई थियो । जिल्लामा भएका होटलहरुलाई चलायमान बनाउन भ्रमण वर्षमा पर्यटक लक्षित कार्यक्रम ल्याइनु पर्ने उनको जोड थियो ।
भरतपुर महानगरका पर्यटन विज्ञ डा. विश्व सुवेदीले भरतपुर महानगरलाई शिथिल भएको पर्यटनलाई उकास्न आन्तरिक तथा बाह्य पर्यटन आगमनमा जोड दिने बताउनु भयो । उहाँले भरतपुरको ३० वटा पर्यटकीय गन्तव्यलाई चिनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रचार प्रसारका कार्यक्रमलाई अघि बढाइनु पर्ने बताउनु भयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण बर्ष सफल बनाउन पर्यटकीय क्षेत्रको वर्गीकरण गरी नीजि क्षेत्रसँग सहकार्य गरी महानगरले कार्यक्रम बनाउनु पर्ने बताउनु भयो । पर्यटकको लागि सुरक्षा, यातायातको व्यवस्था सहज गर्दै पर्यटकीय गन्तव्यलाई सौन्दर्यीकरण गर्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं भरतपुर भ्रमण बर्ष २०८० को कार्यकारी समिति संयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार थप सक्रिय रहने बताउनुभयो । पर्यटन क्षेत्र अन्य क्षेत्रको समेत परिपूरक रहेको बताउँदै पर्यटनको विकास विना अन्य क्षेत्रको विकास हुन नसक्ने बताउनु भयो । महानगरले नयाँ बर्ष वैशाख देखिनै भ्रमण वर्षको क्यालेन्डर प्रकाशन गरी नीजि क्षेत्र र अन्य सरोकारवालबीच सहकार्य गरेर कार्यक्रमहरू तय गरिने बताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र प्रसाद पौडेल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, चेम्बर अफ कमर्शका अध्यक्ष दिर्घमान श्रेष्ठ, पर्यटन कर्मी अपिल घिमिरे लगायतले भ्रमण बर्ष २०८० सफल बनाउन गरिनु पर्ने सुझावहरू दिनुभएको थियो । सहभागी अन्यले वडा, टोल स्तरबाट नै समिति उपसमिति गठन गरी सामाजिक सञ्जाल, डिजिटल मार्केटिङलाई सक्रिय बनाउन सुझाव दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्