तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा लेक साइडको आगलागी दुई घण्टापछि नियन्त्रणमा

पोखरा । पर्यटकीय सहर पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेक साइड सेन्टरको भवनमा आज साँझ लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ ।

हल्लन चोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भूइँतलामा रहेको गोदामबाट साँझ ४ः३५ बजे सुरु भएको आगलागी ६ः४५ बजे पूर्ण नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट सेन्टरमा सञ्चालित आधा दर्जन व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ । आगलागीका समयमा कर्मचारी तथा ग्राहक पसलमा भए पनि मानवीय क्षति भने भएको छैन । प्रहरी निरीक्षक पौडेलले भन्नुभयो, “आगलागी पूर्ण नियन्त्रणमा लिएका छौँ । अहिले राति भएकाले क्षतिको सबै विवरण सङ्कलनमा कठिनाइ भएकाले भोलि बिहान मात्र घटनास्थलको मुचुल्का गर्नेछौँ ।” विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थल र पोखरा महानगरको गरी चार वटा वारुणयन्त्र र निजी खानेपानी कम्पनीका ट्याङ्कर समेत परिचालन गरिएको थियो । लेक साइडको मुख्य सडक क्षेत्रमा भएको आगलागीका कारण प्रहरीले सवारी आवागमन रोकेर घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाम पूर्ण क्षति र हिमालयन जाभा क्याफे, नासा ट्रेकिङ इकुप्मेन्ट सप, प्याडल नेपाल, तिब्बतीयन कल्चर सप, मसला बिट लगायतका पसलमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button