भेरी नगरको १२औँ नगरसभा सम्पन्न, स्थानीय सेवा ऐन पारित
जाजरकोट । भेरी नगरपालिकाले १२औँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख चन्द्र प्रकाश घर्तीको अध्यक्षतामा आफ्नै सभाहलमा नगरपालिकाले १२औँ नगरसभा सम्पन्न गरेको हो ।
शुक्रबार सम्पन्न सभाले नगरपालिकाको स्थानीय सेवा ऐन २०७९ पारित गरेको छ । त्यस्तै स्थानीय शिक्षा ऐन २०७४ र विनियोजन ऐन २०७९ मा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
सभाले शान्ती चौतारा देखि कालेगाउँ सम्मको सडकको स्वामित्वको विषयमा सम्बन्धित निकायमा आवश्यक समन्वय गर्ने निर्णय समेत गरेको छ । भेरी करीडोर अन्तरगत जाजरकोट डोल्पा सडक खण्डमा पर्ने उक्त सडकको स्वामित्वको विषयमा हाल अन्यौलता छ ।
सुरुमा जिल्ला सदरमुकामको शान्तिचौतारा देखि कालेगाउँ हुँदै गएको उक्त सडक ट्रयाक परिवर्तन गरी बोहोरा जिरो प्वाइन्ट देखि फूलबारी हुँदै कालेगाउँ जोडिएपछि बजार क्षेत्रको सडकको स्वामित्वको विषयमा अन्यौलता देखिएको हो ।
त्यस्तै कर्मचारीहरूको दरबन्दी एकिन गर्न आवश्यक काम भइरहेकोले थप कार्यका लागि कार्यपालिकालाई अख्तियारी प्रदान गरी आगामी नगर सभामा स्वीकृत गर्ने, ढुङ्गा गिट्टी बालुवा लगायतका प्राकृतिक श्रोतसाधानहरुको चोरी निकासी नियन्त्रण, नगरपालिका भवन अगाडीको जग्गा तथा विभिन्न वडा कार्यालयहरूको लागि चाहिने जग्गा प्राप्तिका लागि समेत आवश्यक निर्णय भएको बताइएको छ ।
वित्तीय प्रगति ४० प्रतिशत र भौतिक प्रगति ३५ प्रतिशत
आर्थिक वर्षको सातौँ महिनामा नगरपालिकाको वित्तीय प्रगति ४० प्रतिशत र भौतिक प्रगति ३५ प्रतिशत मात्र देखिएको छ ।
सभालाई सम्बोधन गर्दै नगर प्रमुख घर्तीले हाल सम्मको प्रगति सन्तोषजनक नभएको भन्दै यस आवमा शतप्रतिशत प्रगति हासिल गर्नका लागि सबैको सक्रियता आवश्यक भएको बताउनुभयो ।
चालु आर्थिक वर्षको आधा भन्दा बढी समय बितिसकेको अवस्थामा हामीले सोचे अनुसारको प्रगति हासिल गर्न सकेनौँ, अब नगरपालिकाको सिङ्गो टिम मिलेर लाग्नु पर्छ : नगर प्रमुख घर्तीको भनाई रहेको छ । देशको आर्थिक सङ्कटको अवस्था, कतिपय नीतिगत समस्या र बदलिएको परिस्थितिका कारण कतिपय कामका ढिलाइ भएको भन्दै विधायन सभाको रुपमा रहेको यस सभाले समस्या समाधानका लागि आवश्यक निर्णय गरेको उहाँले बताउनुभयो ।
सङ्घीयता पश्चात् जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको विधायन सभालाई स्थानीय तहको नीति निर्माण गर्ने मुख्य थलो मानिन्छ ।सभामा नगर उपप्रमुख सीता जैसी लगायत वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु र १३ वटै वडाका वडासदस्यहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्