तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र बाराका ११ छोटी भन्सार सञ्चालनको तयारी

वीरगंज । मुलुकको प्रमुख नाका वीरगंज भन्सार कार्यालय मातहत रहेका बारा तथा पर्साका ११ वटा छोटी भन्सार कार्यालय सञ्चालनको तयारी भइरहेको छ । 

माओवादी द्वन्द्व, मधेश आन्दोलनसँगै कोरोना महामारीका कारण वीरगन्ज भन्सार कार्यालय मातहत रहेका छोटी भन्सार कार्यालय बन्द हुँदा विशेष गरी ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा तथा व्यवसायीहरू प्रभावित भएका छन् । 

बाराको सिम्रौनगढ छोटी भन्सार कार्यालयमा सञ्चालनको माग गर्दै स्थानीय बासिन्दा अनिश्चितकालिन रुपमा सिम्रौनगढ बजार बन्द गरी आन्दोलनमा उत्रिएपछि वीरगन्ज भन्सार कार्यालयले नायब सुब्बाको नेतृत्वमा कर्मचारी पठाएर सञ्चालनको तयारी गरि रहेको छ । 

बारा, पर्साका भारतीय सीमासँग जोडिएका छोटी भन्सार नाकाका बजारहरू अहिले ठूलो बजारको रूपमा परिणत भइसकेका छन् । त्यहाँबाट दैनिक भारतीय बजारमा गई किनमेल गरेर फर्किने नेपालीको सङ्ख्या उल्लेख्य हुने गरेको छ । 

सीमामा रहेका भन्सार कार्यालय सञ्चालन नहुँदा सरकारले दैनिक ठूलो परिमाणमा राजस्व गुमाउँदै आएको छ । सीमाका नेपाली बजारका व्यापारीहरूले आफ्नो पसलका लागि पनि भारतीय बजारबाट मालसामान खरिद गरेर ल्याउने गरेका छन् । 

भन्सार कार्यालय नहुँदा उनीहरूले राजस्व तिरेर ल्याउन चाहे पनि तिर्न नपाउने गरेको गुनासो गरेका छन् । पर्साको छोटी नाका मध्ये सबैभन्दा बढी चलती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्ष अगाडी निर्माण गरी तयारी अवस्थामा रहेको भए पनि वीरगंज भन्सार कार्यालयले कर्मचारी नखटाउँदा समस्या भएको स्थानीय व्यवसायीहरूले बताएका छन् । 

चितवन, गोरखा, तनहुँका समेत सर्वसाधारणहरू ठोरी नाकाबाट दैनिक उपभोग्य सामान खरिद गर्न पुग्ने गरेको र सो नाकामा भन्सार कर्मचारी नबस्दा वार्षिक करोडौँ रुपैयाँ राजस्व चुहावट भई रहेको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनु भयो । 

यता वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी दिल्ली सुवेदीले कोरोना संक्रमण पछि सञ्चालन हुन नसकेका छोटी भन्सार कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै भन्सार विभागले पनि छोटी भन्सार पुनः सञ्चालनका लागि आदेश दिएको हुँदा आफूहरू केही दिन भित्रै छोटी भन्सार कार्यालय पुनः सञ्चालनको तयारीमा जुटेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button