तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जलाई आर्थिकसँगै पर्यटकीय नगरीको रुपमा विकास गरिने : प्रमुख सिंह 

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई आर्थिकसँगै पर्यटकीय नगरीको रुपमा विकास गर्न ठोस कार्यक्रमका साथ महानगर जुटेको बताउनुभएको छ । 

पर्यटक प्रहरी कार्यालय काठमाडौँको आयोजनामा आज वीरगंजमा आयोजित पर्यटन प्रवद्र्धन तथा पर्यटन सुरक्षामा सरोकारवाला निकायहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख सिंहले भारतीय पर्यटक भित्र्याउने गरी महानगरले काम गरिरहेको भन्दै त्यसमा सबैले साथ दिन आग्रह गर्नुभयो । 

उहाँले भारतीय सवारीसँग लिने गरिएको कर हटाउँदा महानगरको वार्षिक ६ करोड आम्दानी गुमेको भए पनि भारतीय पर्यटकको आगमनले पर्यटनसँग आश्रित व्यवसायी र परिवारको घर चल्न ठूलो मद्दत मिलेको बताउनुभयो । 

महानगरले माइस्थान मन्दिर सौन्दर्यीकरण गरेर धार्मिक पर्यटनको मार्ग खुलाउन खोजेको भन्दै उहाँले अब १५० वर्षभन्दा बढी पुरानो नृसिंह पिपरा मठको पुन निर्माणमा आफूहरू लागि परेको पनि बताउनुभयो ।

उहाँले आउँदो चैत्र सम्ममा वीरगञ्जको मुहार फेर्ने गरी काम गरिरहेको भन्दै त्यसका लागि सबैको साथको आवश्यकता रहेको पनि बताउनुभयो । सबैले आफ्नो ठाउँबाट काम गरे मात्रै वीरगञ्जलाई आर्थिक नगरीसँगै पर्यटकीय नगरीको रुपमा विकास गर्न सकिनेमा उहाँको जोड थियो । 

होटल व्यवसायी संघका केन्द्रीय सचिव हरि पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान लगायत होटल व्यवसायी तथा सुरक्षा निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button