तपाईँ सुन्दै हुनुहुन्छः

स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती

सुर्खेत/भेरीगङ्गा I कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । 

राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडी धनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ । 

सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्क साथ यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ । सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बमको भनाइ छ । 

“हामी वर्षांैदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “कहिले धुलाम्मे त कहिले हिलाम्मे सडकमा यात्रा गर्दा  दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।”

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दही खोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ । 

सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका काम हुँदै आएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चित्र चौलागाईंले भन्नुभयो, “ठाउँ ठाउँमा हामीले स्तरोन्नति गरिरहेका छौँ । तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम गरिरहेका छौँ ।”

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात सहसचिव एवम् (प्रवक्ता) मन्त्रालयका शिवप्रसाद नेपालले स्रोत नहुँदा कर्णाली राजमार्ग स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको बताउनुभयो । “अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणका लागि स्रोतको खोजीमा छ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button