नन्द भाउजूको सेल रोटी उद्यम

टङ्कीसिनवारी I इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेल रोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुनुहुन्छ ।
सेल रोटी बनाउन जान्ने उहाँहरूलाई घरमा वा छिमेकमा केही परे सेल रोटी पकाउने जिम्मा आइलाग्थ्यो । उहाँहरू पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिनुहुन्थ्यो ।
विसं २०७३ सालमा उहाँहरू सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनी पदाधिकारीबिच छलफल हुँदा नन्द भाउजूले सेल रोटी पकाएर खुवाउने जिम्मा लिनुभयो । वार्षिकोत्सवका सहभागी सबैले उहाँहरूले पकाएको सेलसोटी औधी मीठो मानी खाए । सेल रोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो ।
वार्षिकोत्सवमा सहभागी भएका एकले आफ्नो घरमा पूजा रहेको भन्दै सोही समयमा एक सय वटा सेल रोटीको अर्डर दिनुभयो । नन्द, भाउजूले भोलिपल्ट सय सेल रोटी पकाएर सहभागीको घरैमा पु¥याइदिनुभयो । सेल रोटीको प्रशंसा त्यहाँ पनि भयो । यो उहाँहरूको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेल रोटीको अर्डर आउन थाल्यो ।
इटहरी, धरान र विराटनगरका सुपर मार्केटले पनि नन्द, भाउजूले पकाएको सेल रोटी खोज्न थाले । नन्द, भाउजूले सोखका रूपमा थाल्नुभएको सेल रोटीले बिस्तारै व्यवसायको रूप लियो । उहाँहरूले यसका लागि कम्पनी दर्ता गर्नुभयो र सेल रोटी पकाउँदै बिक्री गर्न थाल्नुभयो ।
उहाँहरूले अहिले ‘अर्ग्यानिक चन्द्रमा कोशेली तथा मसला उद्योग’मार्फत् सेल रोटी पकाउँदै आउनुभएको छ । यसका लागि पाँच जनाले जागिर पाएका छन् । सेल रोटी पकाउने काममा मात्र सीमित नभएर नन्द भाउजूको जोडीले उद्योगको दायरा फराकिलो बनाउँदै लैजानु भयो । हाल उहाँको कम्पनीमा अनर्सा, सुत्केरी मसला, बेसार, मसौरा, मकैको चामल, जौ चना मिश्रित सातुको पनि उत्पादन भइरहेको छ ।
हाल विराटनगर–२ स्थित शङ्करपुरमा आयोजना गरिएको ‘सिएनआइ एक्स्पो–२०७९’मा पनि उहाँहरूले स्टल राख्नुभएको छ । स्टलमा पकाएको सेल रोटी चाख्न उपभोक्ताको बाक्लो भिड देख्न सकिन्छ ।
एक्स्पोमा नन्द र भाउजूले दैनिक पाँच सयदेखि आठ सय सेल रोटी बिक्री गर्दै आउनुभएको छ । एउटा सेलरोटीलाई रू ३० मा बिक्री गर्नुहुन्छ । भाउजु रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेल रोटीले आफूलाई उद्यमी बनाएको बताउनुहुन्छ ।
उहाँले सेल रोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु सुरु गरेको बताउनुभयो र गरेको बताउनुहुन्छ । अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको बताउनुभयो । मिश्रका अनुसार उहाँहरूले हाल दैनिक तीन हजार सेल पकाउने र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ ।
सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उहाँको भनाइ छ । मिश्रले उधारोमा सामान लिने अनि समयमै पैसा नतिर्ने कतिपयको प्रवृत्तिका कारण समस्या भएको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्