तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलसेन नगरभित्र ६ सय ७८ जनामा अपाङ्गता भएका व्यक्ति

अछाम । अछामको मङ्गलसेन नगरपालिका भित्र ६ सय ७८ जना अपाङ्गता भएका व्यक्ति रहेको एक तथ्याङ्कले देखाएको छ । नगरपालिका भित्रका १४ वटै वडाका ६ सय १० घरधुरीमा गरिएको एक सर्वेक्षणबाट सो तथ्याङ्क निकालिएको हो ।

मङ्गलसेन नगरपालिकाले सेभ द चिल्ड्रेनको सहयोग तथा वाक नेपाल अछाम सँगको समन्वयमा नगरका प्रत्येक वडाहरूमा गणकहरू खटाई अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिएको र सो तथ्याङ्कमाथि छलफल तथा अभिमुखीकरण गरिएको हो । तथ्याङ्क सङ्कलन गर्दा क, ख, ग  र घ वर्ग गरि ४ वटा श्रेणीमा विभाजन गरिएको थियो भने तथ्याङ्क सङ्कलनका अन्य आवश्यक मापदण्डलाई समेत पालना गरिएको थियो ।

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार वडा नम्बर १ मा ६२ जना, २ मा १० जना, ३ मा ८६ जना, ४ मा ३० जना, ५ मा ९४ जना, ६ मा ३७ जना, वडा नम्बर ७ मा ८० जना अपाङ्गता भएका व्यक्तिहरू रहेको जनाइएको छ । यस्तै वडा नम्बर ८ मा २९ जना, ९ मा २२ जना,१० मा २७ जना, ११ नम्बर वडामा १३ जना, १२ मा ५२ जना, १३ मा ८८५ जना र वडा नम्बर १४ मा ५१ जना अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क रहेको छ ।

सङ्कलित तथ्याङ्क हेर्दा सबैभन्दा बढी ४४ प्रतिशत मध्यम अपाङ्गता भएका व्यक्ति रहेका छन् भने सबैभन्दा बढी वडा नम्बर ५ मा ९४ जना र कम वडा नम्बर २ मा १० जना रहेका छन् ।

नगर उपप्रमुख संगीता कुमारी रावलको अध्यक्षतामा भएको अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क अभिमुखीकरण छलफल कार्यक्रमबाट नगरको सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष बिर्ख बहादुर बोगटी संयोजक रहने गरी ७ सदस्यीय तथ्याङ्क विश्लेषण तथा जाँचबुझ समिति समेत गठन गरिएको छ । समितिमा वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, १२ का अध्यक्ष खगेन्द्र बहादुर रावल, नगरपालिका स्तरीय अपाङ्ग उत्थान समितिका अध्यक्ष रुद्र बिक, संघ संस्था समन्वय शाखा प्रमुख होम साउद, शिक्षा शाखाका प्राविधिक सहायक दिपक भण्डारी सदस्य रहेका छन् भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सदस्य सचिव रहने जनाइएको छ । 

समितिले सबै वडाबाट सङ्कलित तथ्याङ्कको विश्लेषण, सहजीकरण र थप जाँचबुझ गर्नुका साथै आवश्यक सुझाव पेश गर्ने छ ।

कार्यक्रमका सहभागीहरूले नगरपालिकामा सङ्कलित तथ्याङ्कबाट आगामी दिनमा नगरको योजना तर्जुमा र लक्षित समुदाय केन्द्रित कार्यक्रम सञ्चालनका लागि टेवा पुग्ने बताएका छन् । नगरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरू बाहेक अन्य अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क एकीन नभएको अवस्थामा अहिले सङ्कलित तथ्याङ्क निकै महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडा नम्बर ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक बृख बहादुर बोगटी, सेभ द चिल्ड्रेनका सह निर्देशक रतन राज ओझा, वाक नेपालका महासचिव अप्सरा कुवर र अपाङ्ग उत्थान समितिका नगर अध्यक्ष रुद्र बिकले सुझाव सहितको मन्तव्य राख्नुभएको थियो । सेभ द चिल्ड्रेनका मिल संयोजक राजकुमार परियारले सङ्कलित तथ्याङ्क प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा सेभ द चिल्ड्रेनका जिल्ला संयोजक प्रेम पुनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button