तपाईँ सुन्दै हुनुहुन्छः

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । 

आज वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्त्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको हो । 

उहाँले निगमका जहाजहरूको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिनुभयो । “कुन जहाज कति बेला उडे? कहाँ रोकिए ? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्न”, उहाँले भन्नुभयो । 

“विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्त्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्”, उहाँले भन्नुभयो । 

मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिनुभयो । 

“जहाज अब उप्रान्त समयमै उड्नुपर्छ, हिजो के भयो त्यो म हेर्दिन, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन”, उहाँले भन्नुभयो, “नकारात्मक काम गर्दिन, सकारात्मक काममा सधैँ साथ दिन्छु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button