तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजाअर्चना तथा प्रसाद ग्रहण

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्चना गर्दै प्रसाद ग्रहण गर्नुभएको छ ।

उहाँले मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गर्नुभयो । मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले राष्ट्रपति भण्डारीलाई टीका, फूल, प्रसाद प्रदान गर्नुभएको थियो ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरका बारेमा विगतको ऐतिहासिक पक्ष, मन्दिरको पूजा विधि, चुनौती र भूकम्पपछिको पुनःनिर्माणबारे जानकारी लिनुभएको पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो । ।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले चाँगुनारायणमा निजी स्तरबाट सञ्चालित चाँगुनारायण सङ्ग्रहालयको समेत अवलोकन गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई बागमती प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठ, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री लगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेबिच भेटवार्ता
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबिच भेटवार्ता भएको छ ।

बिजुक्छे निवास कमलबिनायकमा भएको भेटमा मुलुकको समसामयिक विषय र भक्तपुरका सम्पदा बारेमा छलफल भएको अध्यक्ष बिजुक्छेको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी चाँगुनारायण मन्दिरबाट फर्केपछि बिजुक्छे निवास पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button