थाङपालकोटमा हाट बजार

सिन्धुपाल्चोक । स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका –४ थाङपालकोटमा हाट बजार सुरु गरिएको छ ।
मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोट सिन्धुपाल्चोकले शुक्रबारदेखि थाङपालकोटमा हाट बजार सञ्चालनमा ल्याएको हो ।
अबदेखि प्रत्येक शुक्रबार रैथानेश्वरी मन्दिर बजार केन्द्रमा हाटबजार मेला सुरु गरिएको सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले जानकारी दिनुभयो ।
सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङले वडा नम्बर ३ मा गत वर्षदेखि नै हाट बजार व्यवस्थापन गरिरहेको छ । हाटबजारले मुद्रा विनिमय सँगसँगै बस्तु विनिमय गरि एक अर्काको सामान साटासाट र खनखाँचो टार्नसमेत सहज बजाउने आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताउनुभयो ।
वडा अध्यक्ष कुलबहादुर बस्नेतले आमा दिदीबहिनीहरूले आफ्नै परिश्रमको उत्पादनलाई बजारसम्म पुर्याई नगद आर्जन गर्न र उपभोक्ताहरूले सस्तोमा स्वच्छ, ताजा अर्ग्यानिक उत्पादनको उपभोग गर्न सहज हुने विश्वासका साथ निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।
आर्साे नेपालले टिजिएचको सहयोगमा रैथानेश्वरीमा निर्माण गरेको यो बजार केन्द्र हलको अधिकतम उपयोग भई स्थानीय समुदायको आर्थिक उपार्जनमा थप सहयोग पुग्ने विश्वास संस्थाले लिएको परियोजना संयोजक तामाङले बताउनुभयो । आफ्नै आँगनमा स्थानीय उत्पादन खरिद बिक्री गर्न पाएकामा स्थानीय सुदर्शन सापकोटाले खुशी व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्