डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि सुरु हुने
डडेल्धुरा । पाचौं संस्करणको डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि सुरु हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं ५ औँ डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको हो ।
आयोजक डडेल्धुरा उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलनको आयोजना गर्दै “कृषि, पर्यटन, उद्योग र व्यापार : समृद्ध डडेल्धुराको आधार” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुने जानकारी दिएको छ ।
संघका कार्यवाहक अध्यक्ष दीपकबहादुर महताले यस पटकको महोत्सवमा विभिन्न किसिमका आकर्षणहरू रहेको जानकारी दिनुभयो । “स्थानीय कला, संस्कृतिसँगै पुरातात्त्विक क्षेत्रको प्रदर्शनी पनि महोत्सवमा हुनेछ,” संघका कार्यवाहक अध्यक्ष महताले भन्नुभयो, “स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ । स्थानीय उत्पादनसँगै कृषि उपजको प्रदर्शनी पनि राखिने छ भने रमाइलो मेला पनि महोत्सवमा हुनेछ ।”
उहाँका अनुसार महोत्सवका लागि झण्डै ७२ लाख खर्च हुने तथा डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सव अवधिमा ५ करोडको कारोबार हुने अनुमान गरिएको आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लोकराज भट्टले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्