हिउँ नपर्दा जुम्लामा सुक्न थाल्यो बाली
जुम्ला । चन्दननाथ नगरपालिका १० का किसान शंखु खत्रीलाई यतिबेला विगतका वर्षमा स्याउका बिरुवा काँटछाँट गर्न भ्याइनभ्याई हुन्थ्यो । खाडल बनाउने, बिरुवा काँटछाँट गर्ने, हिउँ पोखरीमा हिउँ सङ्कलन गर्दै खत्रीको दिन बित्थ्यो ।

तर उहाँ यस वर्ष निकै फुर्सदिलो हुनुहुन्छ । माघको पहिलो हप्ता बित्दा समेत हिउँ नपरेपछि हिउँदे अन्नबाली सुक्नुका साथै बगैँचा व्यवस्थापनको काम ठप्प रहेको खत्रीले बताउनुभयो । पुस, माघमा स्याउ बगैँचामा आवश्यक चिस्यान र सिँचाई तथा बिरुवा काँटछाँट नभए स्याउ उत्पादन घट्ने उहाँको चिन्ता छ ।
त्यस्तै तातोपानी २ का लोक बहादुर दमाई जुम्लामा अझै हिमपात नहुँदा बालीनाली सुक्न थालेको बताउनुहुन्छ । “विगतका वर्षमा समयमै हिमपात हुँदा गहुँ, जौ लगायतका बाली हरियो र डाँडा पाखा सेताम्य हुन्थे । यस वर्ष हिउँ पर्ने टुङ्गो छैन । हिउँ पर्खिरहेको गहुँ, जौ खेतमै सुक्न थाल्यो । खाद्य संकट निम्तिने चिन्ता बढ्यो ।”
कर्णालीमा पुस १५ मा अनिवार्य हिउँ पर्ने किंवदन्ती छ । पुस १२ मा बेल्कुनी माइत जाने, १५ गते कोसेली (हिउँ) लिएर फर्किने र बालीनाली सप्रिने विश्वास थियो । तर पछिल्लो समयमा जलवायु परिवर्तनको असरले समयमै हिमपात नहुँदा किसान मर्कामा परेका छन् ।
लेकाली हिउँदे बाली गहुँ, जौ र आलु आकाशे पानी र हिमपातको भरमा सिँचाइ गर्नुपर्ने बाध्यता छ । बाली फस्टाउने समयमा हिमपात नहुँदा जमिनमै बाली डढेर सुक्न थालेकाले जुम्ली किसान चिन्तामा छन् ।
वातावरण, वनजंगलमा बढ्दो अनियन्त्रित मानवीय गतिविधिले जुम्लामा जलवायु परिवर्तनको असर निम्तिएको र प्रत्यक्ष प्रभाव कृषि क्षेत्रमा परेको कृषि विज्ञहरू बताउँछन् ।







प्रतिक्रिया राख्नुहोस्