तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धन गर्न देवचुलीमा महोत्सव हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको देवचुली नगरपालिकामा चौथो देवचुली महोत्सव हुने भएको छ । 

देवचुली नगरपालिका –१७ स्थित फारममा महोत्सव हुन लागेको हो । माघ ५ गते देखि पुस १५ गते सम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादन, पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको आयोजक देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडीले बताउनुभयो । 

स्थानीय उत्पादन र पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष दवाडीले बताउनुभयो ।  ‘महोत्सवमा स्थानीय उत्पादन ,यहाँ रहेका औद्योगिक क्षेत्रका उत्पादनलाई प्राथमिकता दिइने छ । स्थानीय उत्पादन, औद्योगिक उत्पादन, खाद्यान्न लगायत उपभोग्य बस्तु प्रदर्शनीमा रहनेछन्’ अध्यक्ष दवाडीले भन्नुभयो  । 

देवचुलीमा रहेको जिल्लाकै अग्लो डाँडा देवचुली देखि शाश्वतधाम, मध्यवर्ती क्षेत्र सहित धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा महोत्सवले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

एक सय ५० बढी व्यापारिक स्टलहरू रहने महोत्सवमा सूचना प्रविधि तथा सञ्चार, बैक तथा वित्तीय संस्था, हस्तकला सामान अटोमोवाइल्स, शिक्षा, खेलकुदलगायतका वस्तुहरूको प्रदर्शनी समेत रहने छ । 

महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, आमा समूह बीच हाजिरी जवाफ, भजन प्रतियोगिता, खेलकुद प्रतियोगिता र देवचुली डान्स आइडल लगायतका प्रतियोगिताका कार्यक्रम समेत सञ्चालन हुने उहाँले अध्यक्ष दवाडीले बताउनुभयो । 

विभिन्न जातजातिका नृत्य, झाँकी सहित स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुती समेत महोत्सव अवधिभर सञ्चालन हुने उहाँले बताउनुभयो । 

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button