प्रचुर पर्यटकीय सम्भावना रहेको कंचनगढी क्षेत्रमा चमेरे गुफा फेला
नवलपरासी। बर्दघाट नगरपालिका वडा नम्बर –५ मा रहेको कंचनगढी क्षेत्र आन्तरिक पर्यटनको आकर्षणको क्षेत्र बन्ने सम्भावना देखिएको छ ।
स्थानीय बासिन्दाले पाल्पा राज्यको सेनबंशको गढीको रुपमा रहेको विश्वास गरेपनि कंचनगढीको भग्नावशेषको उत्खनन् नगर्दा सम्म यसको ऐतिहासिकताबारे यकिन हुन सक्ने अवस्था भने छैन ।
तर सरकारले देशका एक सय पर्यटकीय गन्तव्यमा राखेपछि यस क्षेत्रको प्रचार प्रसारमा समेत थप टेवा पुग्दै आएको छ । यस क्षेत्रको कंचनगढी परिसर मात्र पर्यटकीय स्थल बन्न सक्ने सम्भावना नभई समग्र क्षेत्र नै प्राकृतिक आकर्षणले भरिपूर्ण रहेको देख्न सकिन्छ ।
यहाँ जैविक पर्यटन र सिँचाइलगायतको विकासले कृषि पर्यटनको क्षेत्रमा समेत उतिकै महत्त्व राख्ने प्रचुर सम्भावना रहेको सरोकारवाला बत्ताउँछन् ।कञ्चन पानीलाई ठाउँ ठाउँमा बाँध बाधेर यहाँ धेरै पर्यटकीय गन्तव्य मात्र होइन कृषि उत्पादनमा समेत वृद्धि गर्न सकिने आधारहरू रहेको छ ।

अझ विभिन्न प्रजातिको चमेरा रहेको चमेरे गुफाको मनोरम दृश्यले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउने सक्ने अवस्था छ ।कन्चनगढी परिसरबाट करिब दुई किलोमिटर उत्तर पूर्वमा रहेको चमेरे गुफालाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।
साथमा हात्ती रह र यस क्षेत्रमा रहेको झरनाहरूले पर्यटन व्यवसाय वृद्धि गर्न सकिने स्थानीय बासिन्दा बत्ताउँछन् ।
यसैबीच नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, बर्दघाट नगरपालिका वडा नम्बर ५ की वडाध्यक्ष बिमला गुरुङ सहितको टोलीले त्यस स्थानको अवलोकन निरीक्षण समेत गर्नुभएको छ ।
सो क्रममा नगर प्रमुख श्रेष्ठले धार्मिक तथा पर्यटकीय महत्त्वको क्षेत्र भएकाले त्यस स्थानहरूको पर्यटन प्रवर्द्धनको लागि कार्यक्रम अगाडी बढाइने बताउनुभयो ।
उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले कंचनगढीलाई नेपाल सरकारले सूचीकरण गरेको १०० वटा पर्यटकीय गन्तव्य स्थल मध्ये एक रहेको भन्दै त्यस स्थानको पर्यटन प्रवर्द्धन अपरिहार्य रहेको बताउनुभएको थियो ।

त्यस्तै त्यस स्थानमा रहेको खोलालाई बाँध लगायतका संरचनाहरू निर्माण गरी सिँचाइ तथा गर्मी मौसममा सितलता दिने प्रकृतिको संरचनाहरू निर्माण गर्न योजना आफूहरूले बनाएको उपप्रमुख उपाध्यायले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्