‘विकासका लागि सामाजिक रूपान्तरण आवश्यक’
सुर्खेत । सुर्खेतस्थित शिक्षा सरोकारवालाहरुले संस्कार, संस्कृतिमा आधारित विकासका लागि समावेशीकरण तथा सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत यूनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘रुपान्तरणका निमित्त सिक्नका लागि सिकौँ’ नागरिक सहभागितासम्बन्धी कार्यक्रमका सहभागीहरूले ज्ञान, सीपलाई पुस्तान्तरण गर्दै बहुआयामिक तथा एकीकृत विकास प्रणालीको प्रवर्द्धनमा जुट्न आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा सुर्खेतका नागरिक अगुवा पीताम्बर ढकालले नयाँ र पुराना पुस्ताबिच सहयोग, सहकार्य, आपसी सद्भाव, आदर सम्मानमा अभिवृद्धि गरि अनुभव आदान–प्रदान गर्न आवश्यक रहेको जनाउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजप्रसाद लम्सालले किशोर किशोरीको समग्र विकासका लागि सुरक्षित वातावरण, शिक्षा, सीप, जीविकोपार्जन तथा आर्थिक सशक्तीकरणमा जोड दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिका ८ नम्बर वडाध्यक्ष टिकाराम शर्माले नयाँ पुस्ता र पुराना पुस्ताबिच सिकाइ, ज्ञान, कला, प्रविधिको हस्तान्तरण गर्ने संस्कारको विकास आवश्यक रहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय आयोगको सचिवालयका सचिव हरि खनालले किशोर किशोरीको अधिकार र विकाससँग सम्बन्धित सवालहरूलाई आफ्ना नीति, योजना तथा कार्यक्रमहरूमा एकीकृत रुपमा समायोजन गर्दै विकास प्रक्रियाको मूलप्रवाहमा समाहित गर्ने पहल गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लास्थित शिक्षा सरोकारवाला, विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, नागरिक समाज तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्