४ लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र
सुर्खेत । राष्ट्रिय परिचयपत्र अभियान सुर्खेतसहित देशका ४५ जिल्लाका वडा स्तरसम्म पुगिसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दाबी गरेको छ ।

विभागले १६ वटा जिल्लाहरूमा राष्ट्रिय परिचयपत्र अभियान सञ्चालन भइरहेको र अब देशका १६ वटा जिल्लामा मात्र अभियान पुर्याउन बाँकी रहेको आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘सामाजिक सुरक्षाको प्रभावकारिता सरोकारवाला निकायहरूको भूमिका’ विषय प्रदेश स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिइएको हो ।
कार्यक्रममा विभागका महानिर्देशक तीर्थराज भट्टराईले अहिलेसम्म ४ लाख नागरिकले राष्ट्रिय परिचयपत्र कार्ड नै पाइसक्नुभएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षभित्र १ करोड ५० लाख नागरिकको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरी २० लाख राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्ने लक्ष्य रहेको जनाउनुभयो ।

उहाँका अनुसार अहिले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय र ४२ वटा ईलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि नागरिकको जैविक तथा वैयक्तिक विवरण सङ्कलन गर्ने कार्य चलिरहेको छ ।
कार्यक्रममा विभागका निर्देशक सागरमणि पाठकले हाल काठमाडौँ जिल्ला र विभागबाट मात्र वितरण भइरहेको राष्ट्रिय परिचयपत्र कार्ड छिट्टै अन्य जिल्ला स्तरबाट समेत वितरण गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले हालसम्म १ करोड ७ लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराई सकिएको जनाउनुभयो । उहाँका अनुसार हालसम्म ७ सय ५३ स्थानीय तहबाट बैङ्किङ प्रणाली मार्फत मङ्सिर मसान्तसम्म ३५ लाख ४८ हजार ७ सय ८९ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
सरकारले वार्षिक एक सय अर्ब रुपैयाँ नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रम मार्फत वितरण गर्दै आइरहेको छ । अहिले देशभरिका साँढे ३५ लाख नागरिकले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् ।
विभागले देशका ६ हजार ५ सय १२ वटा वडाहरूबाट अनलाइन प्रणालीमार्फत घटना दर्ता गर्ने कार्य भइरहेको निर्देशक पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार अझै अनलाइन प्रणालीमा जान देशका २ सय १३ वटा वडाहरू बाँकी रहेका छन् । हालसम्म पुरानो ४३ लाख अभिलेखलाई डिजिटाईजेशन गरी २ करोड ५० लाख पुर्याउने विभागको लक्ष्य रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्