तपाईँ सुन्दै हुनुहुन्छः

खसी बोका बिक्रीको सारथि बन्दै सल्यानका सहकारी

सल्यान । सल्यानका ग्रामीण बस्तीमा सहकारीमार्फत खसी बोकाको बजारीकरण हुन थालेको छ । 

व्यापारीले खसीबोकाको मूल्य निर्धारण गर्दा मारमा किसानहरू परिरहेको अवस्थामा सहकारीले मार्फत बजारीकरण गर्न थालेपछि किसानहरूको बजारमा पहुँच सुनिश्चित भएको छ । आफूहरूले उत्पादन गरेका खसी बोका सहकारीमार्फत बेच्न थालेपछि निकै सहज भएको किसानको भनाई छ । 

समूह र सहकारीमा आबद्ध महिला दिदीबहिनीहरुले पालेका खसी बोकाका पहिले अन्दाज गरेर बेच्दा अति नै घाटा व्यर्होनुपरेको दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्था त्रिवेणी गाउँपालिका १ राम बजारकी अध्यक्ष भोज कुमारी बुढाथोकीले बताउनुभयो । 

उहाँले भन्नुभयो “पहिले गाउँमा आउने व्यापारीले जे मूल्य लगायो त्यसमा अलिकति तलमाथि गरेर बेच्ने गरिन्थ्यो त्यसले निकै घाटा हुन्थ्यो तर अहिले सहकारीबाट तौलेर तौलको हिसाबमा बेच्दा फाइदा हुने गरेको छ ।” बजीकरणमा समस्या नहोस् भन्नका लागि आफूहरूले सहकारीमार्फत यो काम सुरु गरेको बुढाथोकीको भनाई छ । 

गत वर्ष सहकारी मार्फत ५०० सय खसी बोका बिक्री गरेको बताउँदै उहाँले यस वर्ष ७ सय बिक्री गर्ने लक्ष्य लिएको र हालसम्म ३ सय बिक्री भइसकेको बताउनुभयो । 

किसानले हचुवाको भरमा खसी बोका बेच्दै आएकोमा सहकारीमार्फत किसानले तौल गरेर बेच्ने गरेको नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पूजा भण्डारीले बताउनुभयो । 

सहकारीमा नियमित बैठकमा सहकारी सदस्यले आफूसँग बिक्री गर्न योग्य भएका खसी बोको सङ्ख्या टिपाउने गरी सोही आधारमा व्यापारीसँग समन्वय गरी सहकारीको भवनमा नै तौल गरेर बिक्री हुने गरेको उहाँको भनाई छ । 

सदस्यहरूलाई सहजताका लागि सहकारी र व्यापारीको समन्वयमा एउटा निश्चित दरभाउ कायम गरी जिउँदो खसी बोका तौलेर बजार पठाउने कार्यले बजारीकरणको समस्याबाट मुक्ति मिलेको भण्डारीको भनाई छ । तौलका आधारमा मूल्य भने फरक फरक कायम गरिएको छ । २० किलोसम्मको खसीलाई प्रतिकिलो ४००, २५ देखि ३० किलोसम्म ५२०, ३० देखि ३५सम्म ५३०, ३५ देखि ३९ सम्म ५४० हुँदै बढ्ने गरेको भण्डारीको भनाई छ । 

पछिल्लो समय कृषकहरूले व्यावसायिक बाख्रा पालनमा जोड दिन थालेपछि आर्थिक क्षेत्रमा उनीहरू अब्बल बन्दै गएको त्रिवेणी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो । 

कृषकहरूलाई कृषि र सहकारी तर्फ आकर्षित गर्न गाउँपालिको सहकारी मार्फत खसी बोका बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ अनुदान दिँदै आइरहेको उहाँले बताउनुभयो  । 

किसानले वार्षिक न्यूनतम जिउँदो १०० किलो बराबरको खसी बिक्री गर्नु पर्ने नीति बनाइएको रावतको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button