तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन

आज प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ ।

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसबारे आधिकारिक निर्णय भने आज बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्नेछ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको सत्ता गठबन्धन दलले प्रतिपक्षी दलसँग पनि विश्वासको मत माग्ने निर्णयअनुसार प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवालाई भेट्न उहाँको निवास धुम्बाराही जानुभएको थियो ।

आज प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । प्रधानमन्त्री दाहाललाई अहिलेसम्म सत्तारूढ दलबाट १६९ सांसदको समर्थन छ । पुस १० गते तत्कालीन पाँच दलीय सत्तागठबन्धन भङ्ग गरेर एमालेसँग मिलेपछि पहिलो पटक प्रधानमन्त्री दाहाल र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button