तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमराले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री आफैँ गर्ने

बारा । बारम्बार नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री ठेक्का विवादमा पर्न थालेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री आफैँ गर्ने भएको छ ।

उपमहानगरपालिका कार्यविधि बनाएर आफ्ना कर्मचारीहरूको माध्यमबाट ढुङ्गा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री गर्ने योजनामा छ ।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा पुस २२ गते बसेको छैटौँ नगर कार्यपालिका बैठकले नगर उपप्रमुख भोला प्रसाद अधिकारीको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले १५ दिनभित्र रायसहितको प्रतिवेदन कार्यपालिकामा पेस गर्ने निर्णय गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

उक्त प्रतिवेदन नगर सभाबाट पारित गरेपछि प्रयोगमा आउने जीतपुरसिमरा उपमहानगरपालिकाको राजश्व व्यवस्थापन शाखा प्रमुख अधिकृत राम शर्माले जानकारी दिनुभयो ।

पुस २३ गते निर्धारण गरिएको नगर सभा तयारी पुरा नभएको भन्दै स्थगित गरिएको छ । कतिपय नगर सभा सदस्यहरुले नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री कार्यविधि पारित गराउन नगर सभा स्थगित गरिएको बताउने गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाले विगतमा लगाएको नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री ठेक्काको करोडौँ रकम ठेकेदारले अहिलेसम्म उपमहानगरपालिकालाई तिरेका छैनन् । नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री प्रकरणमा मुछिएर जीतपुरसिमरा उपमहानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई अख्तियारको फन्दामा परेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिले आफ्नो क्षेत्रभित्रका नदीजन्य पदार्थ वर्षेनी ५ करोडदेखि १४ करोड सम्म ठेक्कामा लगाउँदै आएको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button