तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर, ८ सय बढीले लिए सेवा

डडेल्धुरा । डडेल्धुरा प्रदेश ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद डा. तारा जोशीको पहलमा डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जोशीको पहलमा जिल्लाको नवदुर्गा गाउँपालिका–४ र अजयमेरु गाउँपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै आठ सय भन्दा बढीले स्वास्थ्य उपचार पाएका छन् । अजयमेरुमा कैलाली अस्पताल र नवदुर्गामा माया मेट्रो अस्पतालका साथै डा.तारा जोशी सचिवालयको आयोजनामा दुई वटै पालिकाकाको वडाहरूको सहकार्यमा शिविरको आयोजना गरिएको बताइएको छ । 

अजयमेरुमा ३ सय १ र नवदुर्गा गाउँपालिकामा ५ सय ४१ जनाले सेवा लिएको सांसद  जोशीले जानकारी दिनुभएको छ । गरिबिका कारण डडेल्धुरा अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई निःशुल्क शिविरले सहयोग पुगेको नवदुर्गा गाउँपालिका–४ की स्थानीय ईश्वरी अवस्थीले बताउनुभयो । 

‘डडेल्धुरा सदरमुकाम पुगेर हजारौँ रुपैयाँ खर्च गर्नुपथ्यो, कतिपयसँग त पैसा नभएर उपचार बाटै बञ्चित थिए । तर, आज निःशुल्क उपचार र स्वास्थ्य परामर्श पाउँदा हामीहरू खुसी छौँ स्थानीय रमेश बहादुर शाहले बताउनुभयो । 

अजयमेरु गाउँपालिका–२ का वडाअध्यक्ष शिवराज भट्टले निःशुल्क स्वास्थ्य शिविरले गरिब नागरिकलाई सहयोग पुगेको बताउनुभएको छ । 

नवदुर्गा गाउँपालिका–४ का वडाअध्यक्ष पदम विष्टले सांसद जोशीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न पहल गरेकोमा धन्यवाद दिएका छन् । यो गरिब, पिछडिएका व्यक्तिहरूको उत्थानका लागि गरिएको काम हो,’ उनले भने । 

शिविरमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग, विशिष्ट नाक, कान, घाँटी रोग, फिजिसियन र जनरल मेडिसियन लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button