आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक: राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजी निर्माण अहिलेको आवश्यकता रहेको बताउनुभयो । “साना, लघु तथा घरेलु उद्योगलाई प्रवर्द्धन गरेर आन्तरिक उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउनु अहिलेको आवश्यकता हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । स्वदेशमै उत्पादन बढाएर निर्यात प्रवर्द्धनमा जोड दिइनुपर्ने उहाँको भनाइ छ ।
बैङ्क तथा वित्तीय संस्थाले नाफा केन्द्रित मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाको पूँजी परिचालनबाट आर्थिक विकास र रोजगारी वृद्धिमा सकारात्मक प्रभाव देखिनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैङ्क तथा वित्तीय क्षेत्रमा पछिल्लो एक दशक अवधिमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । “बैङ्क तथा वित्तीय संस्थामा पैसा राख्दा डुब्दैन भनेर आम मानिसमा विश्वास देखिन्छ । अहिले उनीहरूले पूँजी बढाएका छन् । प्रविधिमा प्रगति भएको छ”, उहाँले भन्नुभयो ।
नेपाल राष्ट्र बैङ्कको गभर्नर महाप्रसाद अधिकारीले विश्व आर्थिक परिदृश्य र बाह्य क्षेत्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको र आगामी दिन अझ बढी चुनौतीपूर्ण हुनसक्ने बताउनुभयो । नेपालमा मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता व्यवस्थापन चुनौतीपूर्ण हुने उहाँको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष बाह्य क्षेत्र अझ बढी प्रभावित हुने गभर्नर अधिकारीले बताउनुभयो ।
बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले बैङ्क तथा वित्तीय संस्थाले मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनीहरूले चर्को ब्याज लिएर बढी नाफा कमाएको भ्रम सर्वसाधारणमा परेको बताउनुभयो । यद्यपि, बैङ्कको ब्याजदर वृद्धिका कारण उद्योग व्यवसायको निरन्तरतामा असर परेको गोल्यानको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्