तपाईँ सुन्दै हुनुहुन्छः

अघि बढ्यो ‘सिञ्जा सभ्यता विधेयक’

जुम्ला । सरकारले सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोक लगाएपछि विधेयक प्रक्रियागत ढङ्गबाट अघि बढेको हो ।

यस अघि कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयकका रुपमा दर्ता गरे पनि सत्ता पक्ष र प्रतिपक्षकै असहयोगले पारित नभई तुहिएको थियो । तर नेपाली भाषा सांस्कृतिको उद्गमस्थल सिञ्जाको संस्थागत विकासका निम्ति तयार भएको सिञ्जा सभ्यता विधेयकलाई संघीय सरकारले प्राथमिकताका साथ अघि बढाउने छ ।

गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालय मार्फत प्रक्रिया पुरा गर्दै अगाडि बढाइएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।

सिञ्जा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गइसकेको र अन्य प्रक्रियाका लागि काम सुरु हुने भएको छ । जुम्लाका निवर्तमान कर्णाली प्रदेश सभा सदस्य नरेश भण्डारीले कर्णाली सभामा गैरसरकारी विधेयकको रुपमा दर्ता गराउनुभएको थियो । विधेयकले कर्णालीको भाषा साहित्य संरक्षणसँगै लाखौँ पर्यटक भित्राउने र आर्थिक समृद्धि हासिल गर्न सकिने स्पष्ट चित्र देखाए पनि पारित हुन सकेन ।

कर्णालीका पूर्व कानुन मन्त्री समेत रहेका भण्डारीले केन्द्रमा नयाँ सरकार बनेसँगै विधेयक अघि बढाउन पहल थालेपछि प्रक्रिया अघि बढेको बताइएको छ ।

“विधेयकलाई मूर्त रूप दिन प्रधानमन्त्री प्रचण्डले नै चासो राख्नुभएको छ ।” भण्डारीले भन्नुभयो,“सङ्घीय सरकारले विधेयक अघि बढाउने कुरा कर्णालीको लागि गौरव र खुसीको कुरा हो ।”

कर्णाली प्रदेश सभामा सफल हुन नसकेको विधेयक अगाडि बढ्दा कर्णालीवासी खुशी भएका छन् । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल सिञ्जा सभ्यता संरक्षण विधेयकलाई संघीय संसद्बाट पारित गराउनुपर्छ भन्ने आवाज अब सार्थक हुने बताउनुहुन्छ ।

सांसद भण्डारीले २०६४ सालमा जुम्लाबाट पहिलो संविधानसभा सदस्य हुँदा गैरसरकारी विधेयकका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विधेयक २०६८ संघीय संसदमा दर्ता गराउनुभएको थियो । सरकारले अपनत्व लिएपछि ऐन बन्यो र जुम्लामा पश्चिम नेपालकै ठुलो स्वास्थ्य संस्था कर्णाली प्रतिष्ठानको स्थापना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button