सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय अर्को बैठकबाट: ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा कुनै आधिकारिक निर्णय नभएको बताउनुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिनुहुँदै अध्यक्ष ठाकुरले वैशाख २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा अर्को बैठकले निर्णय गर्ने बताउनुभयो ।

वर्तमान सरकारबाट कुनै जानकारी नभएको र नेपाली काँग्रेसले समेत कुनै निर्णय नगरेको हुँदा लोसपाले ठोस निर्णय नगरेको बताउनुहुँदै ठाकुरले आधिकारिक जानकारी आएपछि कुनै पनि बेलामा बैठक बसेर निर्णय गर्ने जानकारी दिनुभयो ।
केन्द्रीय कार्यालय बबरमहल काठमाडौँमा बसेको बैठकले मधेश प्रदेश संसदीय दलले पारित गरेर पठाएको विधानलाई अनुमोदन गरेको निर्णय गरेको हो ।
त्यस्तै मधेश प्रदेशका अध्यक्ष तथा कार्यकारिणी समिति सदस्य जितेन्द्र सोनलले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्दै सङ्गठन विस्तार र सुदृढीकरण अभियान सुचारु गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्