प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।
प्रदेश नंं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधार (२) बमोजिम झापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कार्कीलाई मुख्यमन्त्री एमालेका ४० सांसदसहित नेकपा माओवादी केन्द्र १३ राप्रपा ६ र जनता समाजवादी पार्टीका १ गरी ६० सांसदले समर्थन गर्नुभएको छ ।
यस्तो छ प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री कार्कीको राजनीतिक पृष्ठभूमि:
हिक्मतकुमार कार्की: वि. स. २०२१ साल असोज ११ गतेका दिन झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । अहिले उहाँको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँको बाल्यकाल गौरादह मै बितेको र एसएलसीसम्मको अध्ययन स्थानीय जनता मा.बि.मा भएको थियो ।
२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागीता:
विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा सङ्गठित भई विद्यार्थी राजनीतिमा प्रवेश गर्नु भएको हो । पार्टी सम्पर्कमा भने २०३६ साल तिर मात्रै आउनुभएको थियो । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आईएल अध्ययन गर्ने उद्देश्य राखी २०४२ सालमा धरान आउनुभएको थियो । आईएलको पहिलो ब्याजका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उहाँ नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना हुनुभएको थियो । उहाँले कानुनमा स्नातकोत्तर तह (एलएलएम)को अध्ययन पूरा गर्नुभएको छ ।
अनेरास्ववियुको विभिन्न तहका कमिटीहरूको नेतृत्वदायी भूमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौँ, बाग्मती अञ्चल कमिटी ) निर्वाह गर्दै उहाँ २०५५ सालमा केन्द्रिय अध्यक्षको जिम्मेवारीमा रहनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हाल्नुभएका कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा(एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गर्नुभएको थियो । पार्टीको ५ राष्ट्रिय महाधिवेशन देखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसँगै महत्त्वपूर्ण भूमिकामा रहँदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा रहनुभएको छ ।
नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्जका रुपमा जिम्मेवारी बहन गरिसक्नुभएका कार्की संविधान अनुकूल सङ्घीयता कार्यान्वयन गर्ने गरी पार्टीको प्रादेशिक संरचनामा सङ्गठन रूपान्तरण गर्ने चरणमा प्रदेश सङ्गठन कमिटी,प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर१(१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी प्राप्त गर्नुभएको थियो ।
करिब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकारबाट बाहिरिनुभएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जनभन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरी कानुन निर्माणका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ । प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीहरूको क्षमता अभिवृद्धि, संस्थागत सबलीकरण, आधुनिकीकरण र पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ ।
सीमा सुरक्षा मजबुत नबनेसम्म आन्तरिक सुरक्षा व्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रिय सरकार मातहतको सशस्त्र प्रहरी बललाई समेत सबल र सक्षम बनाउँदै लैजानु पर्छ भनेर सीमा सुरक्षाका निम्ति BOP निर्माण र थप गर्ने कार्यको समेत अगुवाइ गर्नुभएको थियो ।
सञ्चार क्षेत्रको समेत जिम्मेवारीलाई बोध गर्दै प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गरी समग्र सञ्चार क्षेत्रको विकासमा समेत उहाँको योगदान रहेको थियो ।
देशका दुई ठुला कम्युनिष्ट पार्टीको एकताद्वारा निर्माण भएको नेकपाको केन्द्रिय कमिटी सदस्यका रुपमा रहनुभएका कार्की एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले नेकपा (एमाले)को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–इन्चार्जका भूमिकामा हुनुहुन्छ ।









प्रतिक्रिया राख्नुहोस्