तपाईँ सुन्दै हुनुहुन्छः

घरभित्रै जलेको अवस्थामा पुरुषको शव फेला

दैलेख । दैलेखको भैरवी गाउँपालिका ४ मा घरभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । 

दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले अन्दाजी ४० वर्षका नरेश बिक जलेको अवस्थामा फेला परेको बताउनुभयो । प्रहरी निरीक्षक कार्कीका अनुसार जलेको अवस्थामा फेला परेका बिकले आफ्नै घरमा आगो लगाएका हुन् ।

भैरवी गाउँपालिका ४ रिङगाटेका नरेशले हिजो साँझ साढे सात बजे आफ्नै २ तले ३ कोठा भएको कच्ची घरमा आगो लगाएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राती साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आफ्नै घरमा आगो लगाएर फरार रहेको भनिएका नरेशको आज बिहान जलेको अवस्थामा शव फेला परेको हो । आज बिहान जलेको घरमा अन्य केही क्षति भएको छ की भनेर खोजतलास गर्दा आधा शरीर घरको छानोले पुरिएको र आधा जलेको अवस्थामा उनको शव फेला परेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

घटनाबारे इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सहित ३ लाख बराबर क्षति भएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button