तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई विश्वासको मत दिने निर्णय २६ गतेको बैठकले गर्छ : उपाध्यक्ष पाण्डे

जनकपुरधाम ।  नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा पार्टीको पुस २६ हुने बैठकबाट निर्णय हुने बताउनुभएको छ । 

बागमती प्रदेशका कामचलाउ मुख्यमन्त्री समेत रहनुभएका पार्टीका उपाध्यक्ष पाण्डेले जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत रुपमा विश्वासको मत मागे पनि पार्टीगत रुपमा नमाग्नु भएकाले विश्वासको मत विषयमा पुस २६ गते बिहान केन्द्रिय समितिको बैठक बसेर निर्णय गरिने बताउनुभयो । 

उहाँले विश्वासको मतका लागि लिखित रुपमा आग्रह नआएकाले व्यक्तिगत हिसाबले आएको प्रस्तावको आधारमा विश्वासको मत दिन नमिल्ने पनि  बताउनुभयो । 

उहाँले वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा वा नदिने संविधान तथा राष्ट्रको कतिको हित हुन्छ त्यसको विश्लेषण गरेर पार्टीले निर्णय लिने पनि बताउनुभयो । 

उहाँले वर्तमान सरकारले ल्याउने नीति तथा कार्यक्रमको आधारमा नेकपा एसले विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिनमा बल पुग्ने बताउँदै वर्तमान सरकारको नीति देश र जनताको पक्षमा रहन आवश्यक भएको पनि बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलको उपनेता समेत रहनुभएका उपाध्यक्ष पाण्डेले अहिलेको सरकारले विश्वासको मत पाउने वा नपाउने त्यसको एकिन नभएको बताउँदै वर्तमान सरकारलाई समर्थन गरेका दलहरू हालसम्म पनि सरकारमा नजानुले आशङ्का सृजना भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button