आत्महत्या न्यूनीकरणका लागि “बाँचौँ न जीवनभर” अभियान शुरु
सुनसरी । सुनसरीको इनरुवामा आत्महत्या न्यूनीकरणका लागि “बाँचौँ न जीवनभर” अभियान सुरु गरिएको छ ।

सनातन कूटुम्ब नेपालको पहलमा इनरुवा नगरपालिका समेतको विशेष सहयोगमा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण गर्न एवम् न्यूनीकरणका लागि “बाँचौँ न जीवनभर” अभियान सुरु गरिएको हो ।
उद्घाटन कार्यक्रममा नगर क्षेत्रका पाँच हजार बढी बालबालिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष गरी विद्यार्थी, बालबालिका तथा किशोरकिशोरी जोखिममा रहेको भन्दै आत्महत्या न्यूनीकरणका लागि “बाँचौँ न जीवनभर” अभियानले सार्थक सन्देश प्रवाह गरेको आयोजक सनातन कुटुम्ब नेपालका अशोक चितलांगियाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले आत्मघाती विचारद्वारा निर्देशित लहडले व्यक्तिलाई आत्म–अवहेलनाबाट मृत्युमा पुर्याउने भएकाले त्यसबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउने प्रयास गर्नुपर्ने बताउनुभयो ।

जीवन जिउने कला नहुने, लागू पदार्थको अत्यधिक सेवन गर्ने, निराशाका भावनामा पौडिनु, आवेगपूर्ण वा आक्रामक स्वभावमा परिवर्तन नल्याउनु, सामाजिक रूपमा आफू बहिष्कृत भएको महसुस गर्नु, आत्मघाती विचारहरूले जित्नु, मानसिक विकारले दिमागलाई नियन्त्रण गर्नु पनि आत्महत्याका कारण हुने भएकाले यसको रोकथाममा सबैले जोड दिनु जरुरी रहेको ढकालले बताउनुभयो ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र उपप्रमुख विनिता कुमारी मेहता लगायतले कार्यक्रमको औचित्यबारे स्पष्ट पार्नुभएकाे थियाे ।








प्रतिक्रिया राख्नुहोस्