मधेश प्रदेशमा पुस २८ गतेभित्र सरकार गठनका लागि आह्वान
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गतेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत नरहेकोले धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुखले पुस २८ गते बिहीबार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मधेश प्रदेशमा कूल १० दलको उपस्थिति भएपनि कुनै एक दलको ५४ सिट नदेखेपछि प्रदेश प्रमुखले दुई वा दुई दलको सहभागितामा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नुभएको छ । मधेश प्रदेशमा १०७ प्रदेश सभा सदस्य छन् ।
मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमालेले २३ सिट, नेपाली काँग्रेसले २२ सिट, जनता समाजवादी पार्टी नेपालले १६ सिट, जनमत पार्टीले १३ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ९ सिट, नेकपा माओवादी केन्द्रले ८ सिट, नेकपा एकीकृत समाजवादी पार्टीले ७ सिट, स्वतन्त्र ६ सिट, राप्रपा १ सिट, नेपाल संघीय समाजवादी पार्टी १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेका छन् ।








प्रतिक्रिया राख्नुहोस्