तपाईँ सुन्दै हुनुहुन्छः

कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गर्नुभएको छ । उहाँले आइतबार सो सम्झौताको स्वागत गर्नुभएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँच ओटा सशस्त्र समूहले यहाँको सरकारसँग सम्झौता गरेर छ महिना अवधिका लागि युद्धविराम गर्ने सम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए ।कोलम्बिायाका राष्ट्रपतिले नयाँ वर्ष सन् २०२३ को शुभकामना सन्देश दिने क्रममा गत डिसेम्बर ३१ का दिन सम्बोधन गर्दै यहाँका सशस्त्र पाँच विद्रोही समूहसँग कोलम्बिया सरकारले युद्धविराम गरेको जनाउनुभएको थियो ।

उहाँले सो युद्धविरामको अवस्था यही सन् २०२३ को जनवरीदेखि आगामी जुन ३० तारिखसम्म कायम रहने पनि बताउनुभएको थियो । कोलम्बियामा युद्धविरामसँगै विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमले यहाँ शान्ति स्थापनाको आशा यहाँका नागरिकमा बढेको संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले बताउनुभएको छ ।

यही युद्धविरामको अवधिमा यहाँका सबै सशस्त्र समूहहरुसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने र यसका माध्यमबाट देशमा शान्ति स्थापना गर्ने विषयमा सबै पक्ष लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

यो युद्धविरामको सही सदुपयोग गरेर कोलम्बियामा शान्ति स्थापनाको काममा लाग्न पनि महासचिव गुटरेसले कोलम्बियाका सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ । उहाँका प्रवक्ता डुजारिकले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा कोलम्बियामा शान्ति स्थापनाका लागि आवश्यक सबै सहयोग गर्न संयुक्त राष्ट्रसंघ सदैव तत्पर रहेको पनि जनाइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button