सम्पदा यात्रा सम्पन्न
काठमाडौँ । देशकै सम्पत्ति र गहनाका रुपमा रहेको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व रहेको कला, सम्पदाका बारेमा विद्यार्थीलाई जानकारी गराउँदै आयोजना गरिएको सम्पदा यात्रा सम्पन्न भएको छ । शिक्षा विकास सञ्जाल मध्यपुरथिमिले स्थलगत रुपमा नै विद्यार्थीलाई सम्पदाको जानकारी दिने उद्देश्यले आयोजना गरेको सम्पदा यात्रामा सञ्जालमा आबद्ध विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
विद्यालयलाई किताबी ज्ञान मात्रै नभई स्थलगत रुपमा नै पाठ्यक्रममा भएका विषयको अध्ययन गराउनु उपलब्धि हुने भएपछि सञ्जालले मधयपुरथिमि नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा आधारित रहेर सम्पदा यात्राको आयोजना गरेको सञ्जालका अध्यक्ष एवं सुप्रिम एकेडेमीका प्राचार्य वीरेन्द्र जयनाले जानकारी दिनुभयो ।
शङ्खधर चोकबाट सुरु भएको सम्पदा यात्रा, बालकुमारी, सुगाँ टोल, विष्णु कुण्ड, सिद्धिकाली, भुलाँखेल, दुई पोखरी, चपाचो स्क्वायर, नगदेश, कमल पोखरी, बोडेका विभिन्न सम्पदाको अवलोकन गर्दै कुमारी मन्दिर परिसरमा गएर समापन भएको उहाँले जानकारी दिनुभयो ।
विद्यार्थीलाई मध्यपुरथिमिका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यहाँका सम्पदा, विगतमा यसको अवस्था, आफू नगर प्रमुख हुँदा भएको सम्पदा संरक्षणको अवस्था, वर्तमान अवस्था र सम्पदा संरक्षणमा अब खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो ।
पूर्व नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि स्थानीय पाठ्यक्रमको पढाइ भइरहेको छ, तर किताबी रुपमा मात्र नभई प्रत्यक्ष रुपमा स्थलगत रुपमा जानकारी दिन भएको सम्पदा यात्राले विद्यार्थीलाई भविष्यमा सम्पदा संरक्षणमा समेत जागरूक गराउने विश्वास लिएका छौँ ।”
सम्पदा यात्रामा शङ्ख धर मेमोरियल इङ्लिस स्कुल, सुप्रिम एकेडेमी, अमिनिटी सेकेण्डरी इङ्लिस स्कुल, ग्लोरी सेकेन्डरी इङ्लिस स्कुल, इरुडाईड एकेडेमी, प्रज्ञा सकेण्डेरी इङ्लिस स्कुल स्कुल, माउण्ट सिनाइ सेकेण्डरी इङ्लिस स्कुल र ज्ञानसुधा पाठशालालगायतका विद्यालयका दुई सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको सञ्जालका उपाध्यक्ष एवं ग्लोरी स्कुलका प्रिन्सिपल शङ्करकर्ण कायस्थले जानकारी दिनुभयो ।
मध्यपुर थिमिभित्रका विद्यालयमा पढ्ने विद्यार्थीलाई मध्यपुरको ऐतिहासिक र पारम्परिक सम्पदाको भ्रमण गराउँदै, त्यसका बारेमा स्थलगत जानकारी गराउने, यहाँका मठ, मन्दिर, पाटीपौवा, परम्पराको कसरी संरक्षण गर्ने र कसरी संरक्षण भइरहेको छ भन्नेबारेमा बुझाउन यात्रा सफल भएको उहाँले बताउनुभयो । विद्यार्थीले सम्पदा यात्राबाट पढाइसँगै खेलकुद र शारीरिक तथा मानसिक विकासका बारेमा पनि जानकारी लिएको उहाँले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्