बाक्लो कुहिरोसँगै तराईमा जाडो बढ्यो

जनकपुरधाम । आज बिहानदेखि बाक्लो कुहिरोसँगै शितलहर शुरु भएपछि मधेश प्रदेशको जनजीवन अत्यधिक मात्रामा प्रभावित भएको छ । बिहानदेखि तापक्रम निक्कै तल झरेका कारणले गरिब तथा विपन्न वर्गका व्यक्तिहरू बढी मारमा परेका छन् ।
बाक्लो कुहिरोका कारणले विमान सेवा पनि आज बिहानदेखि अवरुद्ध रहेको छ । दिउँसोसम्म विमान अवतरणका लागि चाहिने भिजिबिलिटी रहेको छैन । जनकपुर काठमाडौँ र काठमाडौँ–जनकपुरधाम उड्डयन अवरोध रहेको छ । अहिले जनकपुरधामको तापक्रम न्यूनतम १०.५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री रहेको नेपाल नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ ।
अधिकतम तथा न्यूनतम तापक्रमका बीचमा त्यति फरक नभएका कारणले चिसो निक्कै बढेको छ । यसै गरि पश्चिम तिरबाट हावा चलेका कारणले पनि चिसो अत्यधिक मात्रामा बढेको छ । चिसो बढेपछि मजदूर, विपन्न तथा खुल्ला आकाश मुनी काम गर्ने मजदुरहरू प्रभावित बनेको छ ।
चिसो बढेपछि जनकपुरधामको ठाउँ ठाउँमा आगो बालेर जीउ तताउनेहरूको सङ्ख्यामा वृद्धि भएको छ । यसै गरि चिसो बढेका कारणले विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुन सिंहले जानकारी दिनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्