अन्तर पालिका महिला भलिबलको उपाधि हेलम्बुलाई
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो ।

हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउने घारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका तेस्रो र इन्द्रावती गाउँपालिका चौथो भएका खेल सञ्चालन समिति सदस्य श्याम शर्मा एलसिले जानकारी दिनुभयो ।
विजेतालाई पुरस्कार वितरण गर्नुहुँदै हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खेलको माध्यमबाट हेलम्बुको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा हेलम्बुमा प्रदेश स्तरीय खेलको आयोजना गर्ने बताउनुभयो ।
प्रतियोगितामा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका गरी ४ पालिकाले सहभागिता जनाएको खेल संयोजक एवम् शिक्षा शाखाका प्रमुख विश्वनाथ भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ११ हजार १११, दोस्रो हुनेले ६५ हजार १११, तेस्रो हुनेले ३५ हजार १११ र चौथो हुनेले १५ हजार १११ नगद तथा सिल्ड प्राप्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्