बागमती प्रदेश: दोस्रो कार्यकालको प्रदेशसभा अधिवेशनको तयारी पुरा

मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा सचिवालयले तयारी पुरा भएको जनाएको छ । बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्ण हरि खड्काले अधिवेशनको तयारी पुरा भएको बताउनुभयो ।
प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक भएसँगै बागमती प्रदेश सचिवालयले दोस्रो कार्यकालको पहिलो प्रदेशसभा अधिवेशनको तयारी गरेको हो । सचिव खड्काले सर्वदलीय बैठक बस्नुपर्ने, सम्भावित कार्यसूची निर्माण, सांसदहरूलाई स्वागत तथा शपथ ग्रहण गर्नुपर्ने, सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने, संसदीय दलको व्यवस्था गर्नुपर्ने, प्रथम प्रदेश सभाको विषयहरू, कार्य सञ्चालन विषय र अधिवेशन आह्वान लगायतका विषयहरूको तयारी भएको बताउनुभयो ।

भौतिक पूर्वाधारमा बागमती प्रदेश अन्य प्रदेशभन्दा कमजोर रहेको बताउनुहुँदै सचिव खड्काले प्रदेशसभा सचिवालय पुरानै भवनमा रहने र अहिले उक्त भवनलाई मर्मत तथा रङरोगन गरिएको बताउनुभयो । यस्तै कुर्सीहरूको व्यवस्थापन तथा हलमा फलसिलिङको काम गरिएको उहाँले बताउनुभयो ।
१ सय १० सदस्यीय प्रदेश सभामा बागमती प्रदेशमा नेपाली काँग्रेसले ३७ सिट, एमाले २७ सिट, माओवादी केन्द्रले २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ सिट पाएको छ । बागमती प्रदेशमा पहिलो दल नेपाली कांग्रेस रहेको छ । यसअघि पहिलो दल रहेको नेकपा एमाले दोस्रो दल बनेको छ । बागमती प्रदेशमा गठबन्धनकै सरकार बन्ने देखिएको छ ।
प्रदेश सभा अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले बागमती प्रदेश सभा अपाङ्गमैत्री बनाउन माग गर्दै प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराएको छ । महासङ्घले समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित ह्विलचियर प्रयोगकर्ता लाई प्रदेश सभामा सहज वातावरण सिर्जना गर्न मागसहित मङ्गलवार ध्यानाकर्षण पत्र बुझाएको हो ।

ह्विलचियर प्रयोगकर्ता (स्पाइनल कर्ड ईन्जुरी) लक्ष्मी घिमिरेलाई संसद् सचिवालयसम्म सहज वातावरण सिर्जना गर्न बागमती प्रदेश सभाको सचिवालय सचिव कृष्णहरि खड्काको ध्यानाकर्षण गराइएको छ । घिमिरे गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएकोले प्रदेश सभा कार्यस्थल मापदण्डसहित निर्माण गरी सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद् सचिवालयसम्म आवतजावत गरी कार्य सम्पादन गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण गराइएको हो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्कालाई ज्ञापन पत्र बुझाउनुभएको हो । ध्यानाकर्षण पत्र बुझ्नुहुँदै सचिव खड्काले संसद् सचिवालय अपाङ्गमैत्री बनाउने प्रयास भइरहेको बताउनुभयो । यदि नभएका संरचनालाई पुर्ननिर्माण गरी अपाङ्गमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्