तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेसँगै भेडी गोठ उँधौली झरे

सोलुखुम्बु । गर्मी सिजनमा हिमाली भेगमा गएका भेडी गोठ बिस्तारै जाडो बढेसँगै तल्लो भेगमा झर्न थालेका छन् । जाडो बढेकाले भेडी गोठहरू तल्लो भेगमा झारिएको साल्मेको जङ्गलमा भेटिएका ओखलढुङ्गाका भेडापालक व्यवसायी जीतबहादुर गुरुङले बताउनुभयो ।

सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा राई जातिहरूले पुस्तौँ अघिदेखि अङ्गाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने भेडापालक बताउँछन् ।

‘यो पेशा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, परिवार, चाडपर्व केही भन्न पाइन्न’ सोलुखुम्बुको सल्यान–५ का एक मात्र राई भेडापालक प्रवेश राईले भन्नुभयो । भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भए पनि निकै कठिन भएकाले युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेशा नै सङ्कटमा पर्दै जान थालेको उहाँको भनाइ छ ।

मुक्लीका परशुराम गुरुङले चिसो सिजनमा पहाड हुँदै तराईसम्म भेडा गोठ लाने र फेरी गर्मी सिजन शुरु भएपछि क्रमशः फर्काउने बताउनुभयो । ‘भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुँदैन, तापक्रम अनुसार गोठ सार्नुपर्छ’ उहाँले भन्नुभयो । मुख्यतः पूर्वी पहाडका गुरुङ जातिहरूको पुर्ख्यौली पेशा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् ।

पछिल्लो समयमा सामुदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण पनि व्यवसायमा असर पर्न थालेको तथा युवा पुस्ताले सो पेशालाई आफ्नो रोजाइमा नपारेपछि व्यवसाय नै धरापमा पर्न लागेको भेडापालकहरुको भनाइ छ ।

कुनै सामुदायिक वन उपभोक्ता समूहहरूले भेडाको चरणक्षेत्र उपलब्ध नगराउँदा तल्लो क्षेत्रमा समस्या हुने गरेको व्यवसायीहरू बताउँछन् । ‘सिजनअनुसार सबै क्षेत्रमा भेडा डुलाउनुपर्ने भए पनि केही सामुदायिक वनमा चरिचरणमा रोक लगाएपछि चरण क्षेत्रको अभाव हुन थालेको छ’ मुक्लीका खड्गबहादुर गुरुङले गुनासो गर्नुभयो ।’

भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछ्याउने राडी तथा जाडो याममा चिसोबाट बच्न सिरकको रुपमा प्रयोग गरिने पाखी तयार गरिन्छ । हिन्दु धर्मावलम्बीहरूका लागि त कतिपय धार्मिक संस्कारमा राडी आवश्यक हुने भएकाले यसको महत्त्व रहेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button