इलाम–१ बाट प्रतिनिधिसभामा एमालेका महेश बस्नेत विजयी

इलाम । इलामको क्षेत्र १बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महेश बस्नेत विजयी हुनुभएको छ ।
बस्नेतले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई पराजित गर्नुभएको हो ।
बस्नेत २५ हजार ७ सय ५० मत ल्याइ विजयी हुनुभयो भने पूर्व प्रधानमन्त्री खनालले २३ हजार ८८ मत प्राप्त गर्नुभएको इलाम क्षेत्र न १ का निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
इलाममा प्रत्यक्ष तर्फको सबै मत गणना भइसकेको छ । अहिले समानुपातिक तर्फको मतगणना जारी छ ।
प्रत्यक्ष तर्फको मतपत्र समानुपातिक तर्फको मतपेटिकामा पनि खसाएको पाइएकोले अन्तिम विवरण आउन बाकी छ । यो समाचार तयार पार्दासम्म समानुपातिकतर्फ करिब २० हजार मत गणना गर्न बाकी रहेकोले आज राती १ः०० बजेसम्म अन्तिम मत परिणाम आउने निर्वाचन अधिकृत राजकुमार दहालले बताउनुभयो ।
आफ्नै पार्टीका पूर्व अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई फराकिलो मतान्तरले पराजित गर्नुभएका बस्नेत नेकपा एमाले इलामको अध्यक्ष हुनुहुन्छ ।
२०१७ इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका)मा जन्मिनु भएका बस्नेत २०३० को दशकबाट राजनीतिमा सक्रिय हुनुभएको हो । २०३६ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित भएका उनले इलाममा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको नगर सदस्यबाट राजनीति अघि बढाउनु भएको थियो ।
राजनीतिमा बस्नेतको सक्रियता बढे सँगै २०४७ देखि २०५२ सम्म पार्टीको नगर कमिटी सदस्य बन्नुभयो । २०५२ देखि २०५४ सालसम्म नगर कमिटीको सचिव २०५४ साल अघिसम्म इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नु भयो । प्राध्यापन छोडेपछि राजनीतिमा सक्रिय बस्नेत २०५४ र २०७४ मा इलाम नगरपालिकाको मेयर बनिसक्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्