सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विजयी एक मात्र महिला सांसद रन्जिता

धनगढी । प्रतिनिधिसभामा सुदूरपश्चिम प्रदेशका कुल १६ निर्वाचन क्षेत्र नं. मध्ये हाल १५ क्षेत्रको अन्तिम मतपरिणाम (नतिजा)घोषणा भइसकेको छ ।
ती क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनेमा एक जना महिला र १४ जना पुरुष रहेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट ४ जना महिला चुनावी प्रतिस्पर्धामा रहे पनि नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठले मात्र संघीय संसद्को यात्रामा सफलता पाउनुभएको छ । यसर्थ उहाँ प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ विजयी हुने एक मात्र महिला सांसद बन्नु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रहेकी श्रेष्ठ कैलालीको निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा ३० हजार ४०४ मत ल्याएर निर्वाचित हुनुभएको छ । श्रेष्ठले १२ हजार बढी मतान्तरले विजयी हासिल गर्दा प्रतिद्वन्द्वी नेपाली काँग्रेसका (पूर्व मन्त्री) रामजनम चौधरीले १८ हजार ८१ मत प्राप्त गर्नुभयो ।
श्रेष्ठ कैलाली क्षेत्र १ मा विरासत जोगाउन सफल रहँदा प्रमुख राजनीति दलबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका नेकपा एमालेका गौरी वली, निरु पाल र नेकपा माओवादी केन्द्रका विना मगर पराजित हुनुभएको छ । वली डोटीबाट, पाल कञ्चनपुर क्षेत्र ३ र मगर कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहनुभएको थियो ।
यसैबिच सुदूरपश्चिम प्रदेशको प्रतिनिधिसभामा १५ सिटमध्ये नेपाली काँग्रेस ७, नेकपा एमाले २, नेकपा एकीकृत समाजवादी ३ र नागरिक उन्मुक्ति ३ क्षेत्रमा विजयी भएको छ ।
हाल बाजुरा जिल्लाको मतगणना गर्न बाकी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्