झापामा प्रदेशसभातर्फ एमाले र काँग्रेसको खाता खुल्यो

भद्रपुर, झापा । झापामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको परिणामहरू आउन थालेका छन् ।
यसैक्रममा जिल्लामा प्रदेशसभातर्फ नेकपा एमाले र नेपाली काँग्रेसले खाता खोलेका छन् । पछिल्लो मत परिणाम अनुसार झापा क्षेत्र नं २ प्रदेशसभा क तर्फ नेकपा एमालेका एकराज कार्की विजयी हुनुभएको छ । राप्रपासँग चुनावी तालमेल गरेको एमालेका कार्कीले गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गर्नुभएको हो । कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, झापा क्षेत्र नं ३ प्रदेशसभा क तर्फ नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित हुनुभएको छ । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)–का उम्मेदवार वसन्त बानियाँलाई एक हजार ६९ मतान्तरले पराजित गर्नुभएको हो ।
गठबन्धनका साझा उम्मेदवार राजवंशीले २० हजार ७७० मत ल्याउनु भएको छ भने राप्रपासँग चुनावी तालमेल गरेको एमालेका उम्मेदवार बानियाँले १९ हजार ७०१ मत प्राप्त गर्नुभयो ।
राजवंशी २०७४ सालको निर्वाचनमा बानियाँसँगै पराजित हुनुभएको थियो । मतगणना सबै सम्पन्न भए पनि परिणामको अन्तिम घोषणा हुन भने बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्