कैलाली क्षेत्र नम्बर १ मा सबै मतपेटिका पुगेको २ घण्टापछि मतगणना शुरु गर्ने निर्णय

टीकापुर कैलाली I कैलाली क्षेत्र नम्बर १ मा सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगेको २ घण्टापछि मतगणना शुरु गर्ने निर्णय भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले आज गरेको सर्बदलिय सर्वपक्षीय बैठकमा यस्तो निर्णय भएको हो ।
यसअघि निर्वाचन अधिकृतको कार्यालय रहेको नापी कार्यालय टीकापुरको भवनमा हुदै आएको मतगणना यस पटक टीकापुर स्थित नवनिर्मित ईलाका प्रशासन कार्यालयको भवनमा हुने भएको छ । प्रशासनको २ ओटा कोठामा मतगणना गरिने र त्यहाँ तार जालीसहित सिसि क्यामेरा जडान गरिएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो ।
मतगणनाको समयमा प्रत्येक उम्मेदवारको एक जना मात्र प्रतिनिधि बस्न पाउने र थाकेपछि पालो दिन अर्को जना बस्न पाउने व्यवस्था गरिएको पनि अधिकृत भण्डारीले बताउनु भयो ।
आफ्नो नाम कहाँ हो भन्ने थाहा नपाएर मतदाताहरु भौतारीने गरेका कारण निर्वाचनको दिनमा मतदान केन्द्रमा हुने भिडभाडलाई व्यवस्थित गर्न राजनीतिक दलका प्रतिनिधिलाई निर्देशन समेत दिनु भएको छ ।
कैलाली क्षेत्र नम्बर १ मा एक लाख, छ हजार ७०३ जना मतदाता रहेका छन् भने ४५ ओटा मतदान स्थल र एक अस्थायी गरी १२६ ओटा मतदान केन्द्र छन् । टीकापुरको सिटीहलमा रहेको अस्थायी मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मीहरूले भोट हाल्न पाउने छन् ।







प्रतिक्रिया राख्नुहोस्