डडेल्धुरामा निर्वाचन सामाग्री र सुरक्षाकर्मीसहित मतदान केन्द्र जाँदै कर्मचारी

डडेल्धुरा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्मचारी खटाउने काम भइरहेको छ ।
जिल्लाका १ सय १ मतदानस्थलमा रहेका १ सय ३९ मतदान केन्द्रमा कर्मचारी जान सुरु गरेका हुन् ।
निर्वाचन कार्यालय डडेल्धुराका अनुसार सुरक्षाकर्मी र निर्वाचन सामाग्रीसहित कर्मचारीलाई सम्बन्धित केन्द्रमा पठाउन थालिएको हो ।
निर्वाचन अधिकारी करुणाकर अवस्थीले आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने र त्यसअघि नै सबै कर्मचारी मतदान केन्द्रमा पुगिसक्ने जानकारी दिनुभयो ।
“मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सहायक कर्मचारी निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ लागेका छन्”, उहाँले भन्नुभयो, “भोलिदेखि उहाँहरूले मतदान केन्द्रमा काम सुरु गर्नुहुन्छ । सर्वदलीय बैठकदेखि चार किल्ला छुट्याउने काम पनि हुन्छ ।”
निर्वाचनका लागि जिल्लामा ११ सय बढी कर्मचारी खटाइएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार मतदान स्थलमा तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ ।
“पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने गरी व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।
निर्वाचनको सुरक्षाका लागि झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलताका दृष्टिले २३ अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्य मतदानस्थल रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्