तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घ मकवानपुरको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १७ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता एवम् नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि विष्टले पत्रकारहरूको हकहितको लागि महासङ्घ लागिपरेको बताउनुभयो । निर्वाचनमा आचार संहिताको पूर्ण पालना गर्न पनि उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

साधारण सभामा अध्यक्ष गौतमले संस्थागत प्रतिवेदन, सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

महासङ्घले १७ औँ वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशील २ जना पत्रकारहरूलाई नगदसहित सम्मानित गरेको छ । साधारण सभामा पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार २०७८ बाट महासङ्घका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका सम्वाददाता राममणि दाहाल र न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार–२०७८ बाट राष्ट्रिय समाचार समिति मकवानपुरकी सम्वाददाता अञ्जली थापालाई पुरस्कृत गरिएको थियो । उहाँहरूलाई नगद ५ हजार ५५५ र प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी सचिव सिर्जना अर्याल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य धुव्र रावल, सुनिल खडका, पत्रकार महासङ्घ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासङ्घ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button