तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा कारागारका ३८ जनाले मतदान गर्न पाउने

बझाङ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्ला कारागार बझाङमा रहेका कैदीबन्दीमध्ये ३८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारमा ७० जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी भक्त दमाईले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा ३८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।’

जिल्ला कारागार बझाङमा हाल ७० जना पुरुष कैदीबन्दी मात्रै रहेको जिल्ला कारागार बझाङका जेलर धन बहादुर घर्तीले बताउनुभयो । यसैगरी निर्वाचनमा बझाङमा कार्यरत १ हजार ६ सय ५९ जना कर्मचारीले पनि मतदान गर्न पाउनेछन् । उनीहरूले आफू जहाँ निर्वाचनमा खटिएका छन् । त्यहीँबाट मतदान गर्न पाउने भएका छन् । 

उनीहरूले पनि प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउने सूचना अधिकारी दमाईको भनाई छ । निर्वाचनमा नखटिएका कर्मचारीहरूले समेत मतदान गर्ने छन् । कर्मचारीहरूका लागि जिल्ला समन्वय समिति बझाङको सभाहलमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । 

बझाङमा निर्वाचनका लागि २ हजार २८ कर्मचारी खटिने
निर्वाचन सम्पन्न गराउन बझाङमा २ हजार २८ जना कर्मचारी खटिने भएका छन् । मतदान अधिकृत १८६ जना, सहायक मतदान अधिकृत १८६ जना, सहायक कर्मचारी एक हजार ९२० जना, कार्यालय सहयोगी १८४ जना र स्वयंसेवक एक हजार ५५२ जना खटिने जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button