नयाँ मतदातामा नयाँ उत्साह

सिन्धुपाल्चोक । जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको ठान्नुहुन्छ चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का आदित्य श्रेष्ठ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पहिलो पटक मतदान गर्ने अवसर पाउनुभएका श्रेष्ठ आफूले कसलाई भोट हाल्ने भन्नेबारे भने निर्णय भई नसकेको बताउनुहुन्छ ।
“मेरो पहिलो भोट सही र योग्य उम्मेदवारका लागि हुने छ” श्रेष्ठले भन्नुभयो ”त्यसैले म उम्मेदवारको एजेण्डा र उम्मेदवारको योग्यता हेरेर मात्र आफ्नो मत जाहेर गर्छु ।”
उमेरले ७० कटेर पनि जीवनमा पहिलो पटक भोट हाल्दै हुनुहुन्छ जुगल गाउँपालिका लामिडाँडाका फुर्वा ग्याल्बो शेर्पा ।
लामो समय वैदेशिक रोजगारको शिलशिलामा इण्डिया बसेर फर्कनुभएको उहाँले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि सहभागी हुन पाउनुभएन । मतदाता नामावलीमा आफ्नो नाम छुटेका कारण मत हाल्न बञ्चित हुँदै आए पनि मङ्सिर ४ गतेको निर्वाचनमा भने आफू सहभागी हुने उहाँले बताउनुभयो । अहिले भने उहाँको नाम मतदाता नामावलीमा समावेश भएको छ । जीवनमा पहिलो पटक भोट हाल्ने मौका आउँदा आफूलाई औधी खुशी लागेको उहाँको भनाई छ । त्यसो त भोट बिग्रन्छ कि भन्ने डर उहाँमा नभएको होइन, त्यसैले पनि भोट कसरी हाल्ने भनेर जान्ने बुझ्नेहरूसँग सिकेको शेर्पा बताउनुहुन्छ ।
चौताराकै नयाँ मतदाता निहारिका श्रेष्ठ पहिलो पटक मताधिकार प्रयोग गर्न पाउँदा हौसिनुभएको छ । कतिपय मान्छेहरूले भोट दिएर के हुन्छ ? जुन जोगी आए पनि कानै चिरेको भन्ने जस्ता पुराना मतदाताहरूबाट आफूले सुन्दै आए पनि उहाँ भने आफूले पाएको मताधिकारको अभ्यास गर्ने सोचमा हुनुहुन्छ । “मैले पहिलो चोटि मत हाल्ने अवसर पाएको छु, पुराना मतदाताले जे भने पनि यस पटक म आफ्नो अधिकारको उपभोग गर्छु ।”, श्रेष्ठले भन्नुभयो ।
हुन पनि कतिपय पुराना मतदाताहरू निराशमा छन् । जसलाई भोट दिएर जिताए पनि गाउँ ठाउँको विकास र आफ्नो जनजीविकाको सवाल उही नाम्लो, उही कुम्लो भने जस्तै भएको उहाँहरूको अभिव्यक्ति सुन्न पाइन्छ तर सिन्धुपाल्चोकका नयाँ मतदाताहरूमा भने निराशा हैन नयाँ उत्साह पाइन्छ । अधिकांश नयाँ मतदाताले भोट हाल्ने अवसरलाई आफ्नो अधिकार भएको बताउँछन् । आफ्नो मत नबिग्रियोस् भनेर नयाँ मतदाताहरूले मतदाता शिक्षा लिनका लागि पनि आफै अग्रसर भएको देखिन्छ ।
गत आइतबारबाट सुरु भएको नमूना मतदान कार्यक्रममा पनि अधिकांश नयाँ मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
पहिलो पटक हालेको भोट बदर नहोस् भनेर नै आफूहरू नमूना मतदान लगायतका मतदाता शिक्षा कार्यक्रममा सहभागी हुँदै आएको चौताराका बितिसा नापित बताउनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्