तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा शनिबारदेखि दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै 

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ ।

कार्तिक २६ गते शनिबारदेखि काठमाडौँमा हुने दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन दुई दिनसम्म सञ्चालन हुने प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

निर्देशक डा. श्रेष्ठले अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण सम्मेलनमा अमेरिका, जापान, भारत, बगंलादेश, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरू सहभागी हुने बताउनुभयो । 

डा. श्रेष्ठका अनुसार ‘विकासोन्मुख मुलुकहरूका लागि मृत्युपर्यन्त अङ्गदान र प्रत्यारोपण’ भन्ने नारा दिइएको सम्मेलनको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि र प्रत्यारोपण सम्बन्धी अनुभवको आदानप्रदान गर्नु रहेको छ ।

सम्मेलनबाट विकासोन्मुख मुलुकमा रहेका अंगदान सम्बन्धी रहेका समस्या र त्यसको समाधान तथा मृत्युपश्चात् अङ्ग दिन सकिने प्रावधानको व्यापक प्रयोग र विदेशी मुलुकमा जस्तै नेपालमा अङ्ग प्रत्यारोपण कार्य सुचारु गर्ने विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरूबाट १२ वटा कार्यपत्र प्रस्तुत हुने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

सम्मेलनमा समाजसेवी, पत्रकार, कानून व्यवसायी तथा अस्पतालका प्रमुख र नर्सिङ प्रमुख सहभागिता हुने आयोजकको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button