कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी शुरु
सुर्खेत । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी आज सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ ।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा शुरु भएको गोष्ठीको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले उद्घाटन गर्नुभएको हो ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव विनोदप्रकाश सिंह, कर्णाली प्रदेशका प्रमुख सचिव गोपीकृष्ण खनाल, नेपाली सेनाका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुलराज थापा, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेश सागर भुसालसँगै कर्णाली प्रदेशका सुरक्षा निकायका प्रमुख एवं प्रदेशका दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको छ ।
मन्त्री शाहीले कर्णालीमा निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन मुख्यरुपमा भौगोलिक चुनौती रहे पनि तीनै तहको समन्वय र सहकार्यमा सहज बनाउन सकिने धारणा राख्नुभयो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कर्णालीमा निर्वाचन सुरक्षा तयारी तथा बन्दोबस्तीसँगै हेलिकप्टरको स्थायी व्यवस्था गरिएको बताउनुभयो । उहाँले निर्वाचनलाई निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न अहिलेसम्म भए/गरेका वस्तुस्थितिको समीक्षा र अपनाउनुपर्ने रणनीतिमा केन्द्रित भएको जनाउनुभयो ।
उहाँका अनुसार निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित १ लाख ८३ हजार ५ सय ७९ सुरक्षाकर्मी परिचालन हुनेछन् । यसबाहेक सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति पनि खटिँदै छन् ।








प्रतिक्रिया राख्नुहोस्