तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार

बझाङ । बझाङमा भिरबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

जिल्लाको साइपाल गाउँपालिका वडा नं ३ माथिल्लो कायाकि स्थानीय एवम् वडा नं ३ कि वडा सदस्य समेत रहेकी डिकि गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

आइतबार साँझ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गुरुङलाई गम्भीर चोट लागेको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले जानकारी दिनुभयो । 

गुरुङको टाउकोमा गहिरो चोट लागेको तथा अवस्था गम्भीर भएकाले सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको बताइएको छ । 

उद्धार गरेबापत लागेको ५ लाख बराबरको रकम गाउँपालिकाले बेहोर्ने जनाएको छ । 

सदरमुकाम चैनपुरबाट ३ दिनको बाटो रहेको साइपाल गाउँपालिकामा स्थानीयहरू बिरामी हुँदा तथा लडेर घाइते हुँदा उपचारका लागि जिल्ला अस्पताल ल्याउन र जिल्ला बाहिर लिन हेलिकप्टर चाटर गर्दा उपचार खर्चिलो बन्ने गरेको छ । 

आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरूले भने उपचार खर्च नहुँदा ज्यान गुमाउने गरेको स्थानीयवासी तथा समाजसेवी घुरन बोहराले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button